निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको छः प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । फागुन ७ लाई निर्बाचन दिवस मनाइने गरेको र आज शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाई छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको समेत बताएका छन् ।
आयुक्त दिनेशकुमार थपलियाले भने -‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पुरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् । हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडि बढिराखेका छौँ ।’
निर्वाचन धेरै खर्चिलो र भड्किलो नहुने कुरामा बिशेष ध्यान दिदै आन्तरिक स्रोत र साधनहरुको उपयोग गरिने बताउनु भएको छ ।