काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
प्रजातन्त्र दिवसकै अबसरमा १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रजातन्त्र दिवसमा असल आचरण र कैदमा रहदा असल ब्यबहार भएका कैदीहरुलाई आममाफी दिइने गरेको छ ।