फेसबुक र अष्ट्रेलियन सरकारबिच बिबाद कायम


फेसबुक र अष्ट्रेलियन सरकारबिच बिबाद कायम

एजेन्सी- अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो । पहिलोपटक अष्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।

विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो ।

फेसबुकले नयाँ कानुनको विरोध गर्दै अष्ट्रेलियाका विपक्षी नेताहरुका अकाउन्ट,स्वास्थ्य विभाग र मौसम विभागको पेज पनि प्रतिबन्ध गरिदिएको छ । त्यस्तै फेसबुकले अष्ट्रेलियामा आफ्नै पेज पनि ब्लक गरेको छ ।

गुगलले अष्ट्रेलियाको सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएको थियो । तर, बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको हो । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।

फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताएको छ । यस्तोमा फेसबुकले अष्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने बताएको थियो । फेसबुक प्रयोगकर्ताहरुमाथि समाचार पढ्न तथा शेयर गर्नमा प्रतिबन्ध लगाइएपछि हाल अष्ट्रेलियाका नागरिकहरुले फेसबुक बहिस्कार गरिरहेका छन् । प्रयोगकर्ताहरुले फेसबुक कम्पनीलाई दबाब दिनकालागि ‘डिलिट फेसबुक’ नामक अभियान संचालन गरिरहेका छन् । ट्वीटरमा #deletefacebook, #FacebookWeNeedToTalk, #BoycuttZuckerberg जस्ता ह्यासट्याग ट्रेन्डिंगमा रहेको छ । कैयौँ मानिसहरुले आफ्नो फेसबुक एपलाई हटाइ पनि सकेका छन् ।