काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्न सुरू गरेको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएको सामग्री हटाउन थालेको हो । महानगरले बुधबार बिहान डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काइदिएको हो ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएर महानगरले खुला गर्ने पहल सुरु गरेको हो ।
दरबार हाइस्कुल निर्माणमा खटिएका चिनियाँ ठेकेदारले मजदुरहरू राख्न ती टहरा आवासका रूपमा प्रयोग गर्दै आएका थिए । यसबाहेक सवारी पार्किङका कारण पनि खुलामञ्च साँघुरिएको छ । त्यहीँ ब्याडमिन्टन कोर्टसमेत बनाइएको छ ।
खुलामञ्च खाली गराउन ‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरूले दबाब दिँदै आएका थिए ।