धनगढीः १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । ‘वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार गरेका छैनन्’, स्रोतले भन्यो, ‘त्यही कारण तत्काललाई यो विषयलाई सार्वजनिक नगरिएको हो ।’
सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट गिरफ्तार गरि बैतडी प्रहरीको जिम्मा लगाएको स्रोत बताउँछ।
स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर आएका थिए।
उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् ।
स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए ।
दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।