मेरो पूरै गाउँ शोकमा छ
छिमेकी आक्रान्त छन् त्रासले
मान्छे मात्र निर्मला मरेकी हुन्
भागरथी मरेकी हुन्
तर, हत्या मानवताको भएको छ
बलात्कार सभ्यताको भएको छ
घाँटी संस्कारको निमोठिएको छ ।
सहिष्णुता, भाइचारा र ‘प्रेम’ अपहरण भएको छ ।
प्यारी,
मलाई यस्तोमा कुनै जश्न मनाउनु छैन
हात समातेर नाच्न मन पनि छैन
कफी खाँदै प्रेमिल गफ गर्न रहर पनि छैन
चुच्चे ओठ बनाएर सेल्फी खिच्ने जाँगर पनि छैन
आखिर,
प्रेमरहित
संस्काररहित
सभ्यतारहित प्रेमको अर्थ पनि के !
त्यसैले प्यारी,
तिम्रो प्रेमपत्र अनि
रातो गुलाब फिर्ता लैजाऊ
मलाई कुनै प्रेम दिवस मनाउनु छैन ।
हेमबाबु लेखक
महेन्द्रनगर, कंचनपुर
सुदुरपश्चिम