महिला हिंसा र दण्डहीनता एवं प्रतिगमनका विरूद्ध राजधानीमा महिला मार्च


महिला हिंसा र दण्डहीनता एवं प्रतिगमनका विरूद्ध राजधानीमा महिला मार्च

 शुक्रबार राजधानीमा महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा महिला मार्च भएको छ । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो । 

विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।