राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।
गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण बिहीबार सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।
नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो ।
यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।
ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो ।
‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन् ।