काठमाडौँ- सरकारले देशभर चल्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने न्यून भएको भन्दै आगामी दुई बर्षभित्र अनिवार्य गर्ने गरी गृहकार्य अघि बढाइएको हो ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मार्फत साउन १० बाट इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेकाे थियो ।
तर, इम्बोस्ड नम्बर प्लेट थोरै सवारीमा मात्रै जडान भएका छन् । विभागका अनुसार पहिलो चरणमा सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थान गरी सबै सवारी साधनमा अनिवार्य गरिने छ । अहिलेसम्म पाँच हजार ६ सयले मात्रै उक्त नम्बर प्लेट लिएको विभागको तथ्याङ्क छ ।
इम्बोस्ड नम्बर प्लेटको जडान गर्न दुई पाग्रे सवारीको लागी दुई हजार ५०० रुपैयाँ तोकिएको छ भने चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपैयाँ र ठूला सवारीका लागि तीन हजार ६०० रुपैयाँ तोकिएको छ ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फारम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।