बैतडी- बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १० का गोली हानी छोरीको हत्या गर्ने बुवा प्रहरीले पक्राउ गरेको छ । आफ्नै विवाहित छोरी बेलमती महरा धामीलाई माघ २४ गते गोली हानी हत्या गर्ने बुवा धनसिह महरालाई पक्राउ गरेको हो ।
महरालाई दोगडाकेदार गाउँपालिका माल्लेकबाट बिहान ९ बजे पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिएका छन् ।
प्राप्त जानकारीअनुसार स्थानीयवासीको सहयोगमा निजलाई पक्राउ गरिएको हो।
महरालाई पक्राउ गर्न प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
छोरीको हत्या गरेकै रात महराले आफ्नो अर्को घरमा आगजनी गरेका थिए ।
घरमा दुइवटी श्रीमती रहेको र कान्छी श्रीमतीसँग घरायसी विवाद हुँदा सम्झाउन खोज्दा महराले छोरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
हत्या गरिएकी बेलमती विवाहित हुन् । उनी केही दिनदेखि माइतमा बस्दै आएकी थिइन् ।
पक्राउ परेका महराले प्रयोग गरेको भरुवा बन्दुक भने फेला नपरेको जनाइएको छ।
महरालाई कर्तव्य ज्यान मुद्धा र हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।