निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह: प्रम ओली


निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीमा आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सो आग्रह गरेको बताएका छन् ।

आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’

प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएको पनि थापाले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो ।संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।