सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि यातायात व्यवस्था विभागले बढाएको छ ।
यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाएर विभागले अधिकतम १८ महिनासम्म राजस्व तिरेर लाइसेन्स लिन सकिने भएको छ।
आइतबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र सो बमोजिम हुने गरि विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ्ग लाइसेन्स एण्ड भेइकल रजिष्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरि ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।
कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा पास गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर विभागले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता समेत रहेका निर्देशक डा.लोकनाथ भूसालले जानकारी दिए ।