संवैधानिक नियुक्तिविरूद्ध सभामुखले हालेको मुद्दामा कारण देखाउ आदेश: दिएन अन्तरिम आदेश


संवैधानिक नियुक्तिविरूद्ध सभामुखले हालेको मुद्दामा कारण देखाउ आदेश: दिएन अन्तरिम आदेश

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग  गरेको छ । सभामुख सापकोटाले आफ्नो रिटमा संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई नियुक्त भएको पदको हैसियतले कुनै निर्णय नगर्न अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

यसै गरी न्यायाधीश ढुंगानाको इजलासले रिटलाई अग्राधिकार दिन पनि आदेश दिएको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीसहित ३९ जनासँग लिखित जवाफ माग गरेको हो ।