भागरथी हत्या प्रकरणः बलात्कार पछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी आफैं लागे घटनास्थलतर्फ


भागरथी हत्या प्रकरणः बलात्कार पछि हत्या गरिएको प्रहरीको निष्कर्ष, डीआईजी सुवेदी आफैं लागे घटनास्थलतर्फ

बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् ।

प्रारम्भीक अनुसन्धानबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। 

‘घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा अहिलेसम्मको अनुसन्धान सन्तोषजनक रहेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक सिंहले दिनेशखबरसँग भने, अनुसन्धानको दायरा साघुरिदै गएकाले छिट्टै हामी परिणाम सार्वजनिक गछौँ।’ 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन्।

सनातन धर्म माध्यमिक विद्यालयमा पढ्न गएकी उनी बुधबार साँझसम्म घर फर्किइनन् । त्यसपछि बालिका हराएको भन्दै खोजी सुरु थालिएको थियो । बिहीबार बिहान उनको शव लबलेक सामुदायिक वनमा भेटियो ।

अनुसन्धानमा खटिएका एक अधिकृतले सुनाए, ‘झाडी माडिएको र घिसारिएको चोटपटक भएकाले पनि घटना नजिकै भएको हुनसक्ने देखिएको छ ।’