तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी


[ss_social_share]
लेखक : लेखापढी      २५ माघ २०७७, आईतवार ११:२७ मा प्रकाशित     
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो ।

प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए ।

नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेश श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपूर्व संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार काम अगाडि बढाउन थालेको बताए । उनले भने, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्छ भन्ने सबैको चाहना हो । स्थानीय बासिन्दा र स्थानीय सरकारको विशेष सहयोग तथा प्रतिबद्धता आवश्यक हुन्छ । यसैले हामी यो छलफलको प्रारम्भमा छौँ ।’ 

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले प्राचीन शाक्यहरुको राजधानी तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि लुम्बिनी विकास कोषले कुनै कसुर बाँकी नराख्ने बताए । सदस्यसचिव शाक्यले भने, “लुम्बिनी विकास कोषको अबको मुख्य ध्यान र कार्यक्रम नै कपिलवस्तु केन्द्रित हुन्छन् । हामी तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै अन्य क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जोड दिन्छौँ ।”

सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि कपिलवस्तु दरबार त्याग गरेका थिए । पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हवेयन साङ्गले तिलौराकोटको भ्रमण गरेका थिए भने सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गरेपश्चात यसको महत्व अझै बढेर गएको हो । तिलौराकोटमा प्रसिद्ध पुरातत्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रबिन कनिङ्गघमले पनि उत्खनन गरेका छन् । 

तिलौराकोटलाई बर्माको बगानाजस्तै पुरातत्वका विद्यार्थी तथा अनुसन्धानकर्ताले खुला सङ्ग्रहालयको रूपमा प्रयोग गर्न सक्दछन् । त्यसका लागि संरक्षित स्मारक क्षेत्र घोषणा गरेर तत्कालै अगाडि बढ्नुपर्ने पुरातत्वका जानकार माधव आचार्यको भनाइ छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares