प्रतिनिधिसभा विघटन मुद्दा: सकियो सरकारी वकिलको बहस, आजदेखि सरकारी पक्षको बहस


प्रतिनिधिसभा विघटन मुद्दा: सकियो सरकारी वकिलको बहस, आजदेखि सरकारी पक्षको बहस

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । आइतबार संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस सकेसँगै सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको  हो । अब प्रधानमन्त्री कपी शर्मा ओलीका निजी वकिलहरुले बहस गर्नेछन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको बहस यो हप्ता (माघ ३० गते)भित्र सक्नुपर्ने बताएका छन् ।

आइतबार नै सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धव प्रसाद पुडासैनीले पनि बहस गरेका थिए ।  यो बीचमा सरकारी वकिलको तर्फबाट  महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गरेबका थिए ।

संवैधानिक इजलासमा रमेश बडालले प्रधानमन्त्रीका निजी अधिवक्ताका रुपमा बहस सुरू गरेका छन्। इजलासले प्रधानमन्त्रीका वकिलहरुलाई समय तोकेको छ। प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन् । प्रधानमन्त्रीको तर्फबाट बहसका लागि १७२ जनाले नाम दर्ता गराएका छन् । 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित भएपछि उनलाई जबराले बढीमा ३० मिनेटको समय दिएका थिए । जसप्रति बडालले आफूलाई त्यति समयले नहुने भन्दै समय बढाउनुपर्ने माग गरे ।

बहसका क्रममा सरकारी वकिलहरुले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन कानुनसम्मत रहेको दावी गरेका छन् । तर यसअघि नै रिट निवेदकको तर्फबाट बहस गरेका ७२ कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गरेका थिए । 

प्रधानमन्त्रीको वकिलले बहस सकेपछि रिट निवेदकले आफ्नो धारणा राख्नेछन् भने इजलासले गठन गरेको एमिकस क्यूरीले राय दिएपछि मुद्दा फैसलाको चरणमा पुग्ने बताइएको छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।