नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् ।
उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।
मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो । कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।
लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।