महोत्तरीको बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग


महोत्तरीको बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो । बिहानैदेखि प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गर्नुका साथै प्रदर्शन समेत गरेका थिए । 

महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झड्पमा प्रचण्ड-माधव समूहका शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी समर्थन र केपी समूहका कार्यकर्ताहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिँदै प्रदर्शन गरेका थिए । प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव महोत्तरीमा समेत परेको छ ।

आमहड्तालका कारण यस क्षेत्रका बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बिहानैदेखि बन्द छन् । प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ सवारीसाधनलाई पठाइरहेका छन् । प्रदर्शनकारिहरुले राजमार्गमा बसेर नाराबाजी गरिरहेका छन् ।