सपथ लिए संवैधानिक आयोगका पदाधिकारीहरूले


सपथ लिए संवैधानिक आयोगका पदाधिकारीहरूले

संवैधानिक परिषद्को मंसिर गत ३० गते बसेको  बैठकबाट  सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण भएको छ । राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको हाे ।

राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार सपथ ग्रहण सम्पन्न भएको जानकारी दिए ।  सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएकोमा संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकोले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सोमबार नियुक्ति फिर्ता गरेका थिए ।

संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

यसैबीच, थारु आयोगका अध्यक्षसहित सदस्यहरुले भने शपथ लिएनन् । अध्यक्ष काठमाडौं बाहिर रहेकाले उनीसहित सदस्यहरुले शपथ नलिएको राष्ट्रपति कार्यालयलका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । थारु आयोगको अध्यक्षमा विकास चौधरीको नाम सिफारिस गरिएको छ भने सदस्यमा बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी छन् ।