नेपालले शेयरमा आबद्ध हुने लगानीकर्तामा चीन र भारत दुबैलाई पछि पार्याे, लगानीकर्ता बढ्दा के फाइदा हुन्छ?


[ss_social_share]
लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार ०३:०८ मा प्रकाशित     
नेपालले शेयरमा आबद्ध हुने लगानीकर्तामा चीन र भारत दुबैलाई पछि पार्याे, लगानीकर्ता बढ्दा के फाइदा हुन्छ?

नेपालको शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताले चीन र भारतका शेयर बजारमा प्रवेश गर्ने लगानीकर्तालाई पछि पारेका छन्। नेपालको कुल जनसङ्ख्याको ८.८७ प्रतिशत लगानीकर्ता शेयर बजारमा प्रवेश गर्दै भारत र चीनका लगानीकर्तालाई पछारेका हुन्।

चीनको जनसङ्ख्याको आधारमा नेपालमा शेयर बजार प्रवेश गर्ने लगानीकर्ता १.८७ प्रतिशत बढी छन् भने भारतको तुलनामा यो संख्या ६.८७ प्रतिशत माथि उक्लिँदै नेपालले दुवै राष्ट्रलाई पछि पारेको हो।

केन्द्रीय तथ्याँङक विभागका अनुसार आइतबार नेपालको कुल जनसङ्ख्या तीन करोड २२ लाख ९० हजार ३२ पुगेको छ भने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का अनुसार नै आइतबारसम्म हितग्राही (डिम्याट) खाता खोल्दै शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको सङ्ख्या २६ लाख ८२ हजार आठ सय ५५ पुगेको छ। यो भनेको कुल जनसङ्ख्याको ८.८७ प्रतिशत जनता शेयर बजारमा आबद्ध भएका हुन्। जुन भारत र चीनको भन्दा बढी हो।

भारतीय अनलाइन “अफिसचाय” का अनुसार भारतको कुल जनसङ्ख्याको दुई प्रतिशत मात्रै जनता शेयर बजारमा आबद्ध भएका छन्। उता चीनमा कुल जनसंख्याको ७ प्रतिशत जनता शेयर बजारमा आबद्ध भएको तथ्याँङक छ। यस आधारमा नेपालले सर्बसाधारणलाई शेयर बजार प्रवेश गराउने मामलामा दुवै छिमेकी राष्ट्रलाई जितेको छ।

अफिस चायका अनुसार भारत जनासंख्याको हिसाबले निक्कै माथि रहेको भएपनि उसले सर्वसाधारणलाई शेयर बजारमा प्रवेश गराउने मामलामा उल्लेख्य सफलता हासिल गर्न सकिरहेको छैन। अझै पनि धेरै भारतीय यो बजारका बारेमा बेखबर छन्। धेरै भारतीयलाई यो बजारको बारेमा जानकारी नभएको कारणले बजार प्रवेश नगरेको “इन्डिया इन्फोलाईन” जनाएको छ। 

उसका अनुसार अन्य कारणले पनि भारतीयहरू शेयर बजारमा प्रवेश गर्न चाहेका छैनन्। जसमा भारतीय शेयर बजारमा भएका वित्तीय घोटालाहरु पनि कारणको रुपमा औँल्याइएको छ। जस्तै हर्षद मेहता र केतन पारेखको कारण लगानीकर्ताले धेरै पैसा यो बजारमा गुमाए। हालै भएको नीरव मोदी घोटाला र सत्यम कम्प्युटर घोटालाले भारतीय लगानीकर्तालाई थप अत्त्याएको छ।  

साधारणता भारतमा सर्वसाधारणलाई तपाईँका पैसा कहाँ लगानी गर्ने भनेर सोधियो भने धेरैले जवाफ दिन्छन् जसमा सुन, फिक्स्ड डिपोजिटहरू र बन्डहरू, वा घर जग्गा सम्पत्ति हुन्छ। यो वास्तविकता हो – अन्य वित्तीय सम्पत्ति (सुन सहित) भारतीयहरूले आफ्नो लगानीको ३० प्रतिशतको हिस्सा यिनैमा हुन्छ। जबकि विश्वव्यापी रुपमा हेर्ने हो भने यस्तो सम्पत्तिको लगानी जम्मा जम्मी १० प्रतिशत मात्रै हुन्छ। तर पनि तुलनात्मक रुपमा इक्विटीले भारतमा लगानीको १२.९ प्रतिशत हिस्सा ओगटेको छ। तर वाकी विश्वले भने इक्विटीमा २६.१ प्रतिशत लगानी गरेको छ।  

भारतीयहरू सबैभन्दा बढी “सुरक्षित” उपकरणहरूमा लगानी गर्न रुचाउँछन्। जसले कम प्रतिफल प्रदान गरे पनि उनीहरुलाई शेयर बजार भन्दा त्यही भरपर्दो लाग्दछ। उनीहरू शेयर बजारलाई भने धनी लगानीकर्ताहरूलाई मात्र उपयुक्त हो भन्ठान्छन्।

जोखिम भन्दा पनि उनीहरू सुरक्षित लगानीतर्फ नै आकर्षित भएका कारण उनीहरू शेयर बजार आउन चाहिरहेका छैनन्। सबै कारणले थोर बहुत काम गरेको भएपनि वास्तविक कारण चाहिँ भारतीयहरू लगानीमा जोखिम उठाउन चाहँदैनन्। यही कारणले भारतीयहरूले स्थिर जम्मा र सुन जस्ता वित्तीय उपकरणहरूमा लगानी गर्छन्। जुन लामो अवधिमा सुरक्षित मानिन्छ।

उता चीनमा पनि शेयर बजारले बिस्तारै फड्को मार्दै लगेको छ। उसले आफ्नो जनसङ्ख्याको सात प्रतिशत लगानीकर्तालाई शेयर बजारमा जोडी सकेको छ। पछिल्लो समय चीनको सहरी क्षेत्रमा बसोबास गर्ने धेरै चीनियाहरुलाइ यो बजारको बारेमा जानकारी हुन थालेको छ। पछिल्लो समय निष्काशन भएको एन्ट ग्रुपको प्राथमिक शेयरमा परेको आवेदनलेनै चीनमा शेयर बजार प्रति सर्वसाधारणको कति आकर्षण छ भन्ने पुष्टि गर्छ।पछिल्लो समय चीनमा विश्वकै सबैभन्दा ठुलो प्राथमिक शेयर निष्काशन भएको थियो। पौने ४१ खर्ब नेपाली रुपैयाँ बराबर (३४ अर्ब ५० करोड डलर) को प्राथमिक सेयर निष्काशन थियो। जसमा माग भन्दा कयौँ गुणा बढी आवेदन परेको थियो। जुन भारतीय भन्दा चीनका लगानीकर्तामा बढी शेयर बजारले आकर्षण गरेकै कारण उक्त रकम बराबरको आवेदन परेको हो। यति हुँदा हुँदै पनि चीनमा कुल जनसङ्ख्याको सात प्रतिशत सर्वसाधारण मात्रै शेयर बजारमा आबद्ध छन्।

उता अमेरिकामा भने कुल जनसङ्ख्याको ५० प्रतिशत भन्दा बढी जनता शेयर बजारमा आबद्ध भई सकेका छन्। अमेरिकीमा शेयर बारेमा भएको चेतनाको स्तरले पनि कुल जनसङ्ख्यामा आधा भन्दा बढी जनता शेयर बजारमा आबद्ध भएका हुन्।

उता भारतमा जोखिम उठाउन चाहने लगानीकर्ता कम भएकै कारणले शेयर बजारमा आबद्ध हुने जनताको वृद्धिदर कम देखिन्छ भने नेपालमा त्यसको ठिक विपरीत देखिन थालेको छ। नेपालमा दैनिक बढ्दै गएको शेयर बजार प्रतिको आकर्षणले लगानीमा जोखिम लिन सक्ने लगानीकर्ताको उपस्थिति बढ्दै गएको देखिन्छ। जुन मुलुकको लागि सबैभन्दा ठुलो उपलब्धिको रुपमा लिइन्छ।

बैंक वित्तीय संस्थाले बचतमा दिने व्याज कम हुँदै गएपछि सर्वसाधारण शेयर बजार तर्फ तानिएका हुन्। बचतमा कम व्याज प्राप्त भएकै कारणले लगानीकर्तालाई जोखिम लिएर लगानी गर्ने क्षमता अभिबृद्धिमा बल पुर्‍याएको हो। जुन सर्वसाधारण र मुलुक दुबैकालागि हितकर हुने बताइएको छ। किनकि बढ्दै जाने बचतकर्ता भन्दा बढ्दै गएको लगानीकर्ताको ग्राफले मुलुकको आर्थिक गतिविधिमा बढी टेवा पुर्‍याउने विश्वास गरिन्छ। “मुलुकलाई आर्थिक रुपमा अघि बढाउन बढी भन्दा बढी लगानीको आवश्यकता पर्छ। स्वदेशमै लगानीकर्ताको उल्लेख्य उपस्थितिले मुलुकलाई स्व पूँजीमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउछ। पूर्वाधार निर्माण र ठुला उद्यम व्यवसायलाई पूँजी निर्माण गर्न सहज पार्ने काम बढ्दै गएका लगानीकर्ताले गर्ने छन्। जसको सहयोगले समग्र मूलकलाई छोटो समयमै फराकिलो अंकको आर्थिक वृद्धि हासिल गर्न समेत टेवा मिल्ने छ” नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरन्जीबि नेपालले भने।

धितोपत्र बोर्डका समेत अध्यक्ष रहिसकेका नेपालले आफ्नो कार्यकालमा जापान भ्रमणमा गएर आएपछि बालबालिकालाई समेत पूँजी बजारबारे ज्ञान दिनु पर्छ भन्दै अभियान नै चलाएका थिए। उनले पूँजी बजारको विकासकालागी जनचेतना फैल्याउन भन्दै विद्यार्थीहरूलाई समेत सडकमा उतारेका थिए। तर नेपालको उक्त शैलीको त्यस बेला व्यापक विरोध भएको थियो।

तर यति बेला समय फेरिएको छ। नेपालको त्यो शैलीको विरोध भएको यही मुलुकमा बजारमा तीन लाख भन्दा बढी बालबालिका शेयर बजारमा आबद्ध भएको सिडिएसिले जनाएको छ। सोही कारण पूँजी बजारको गफ नगर्ने परिवार कम भेटिन थालेका छन्। जसको परिणाम स्वरूप नेपालका लगानीकर्ताले भारत र चीन जस्तो ठुलो मुलुकलाई समेत पछार्न सफल भएका हुन्।
– source:merolagani 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares