प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पुनः बैठक सारेर बुधबार साँझ ५ बजे बस्ने भनिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास असफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरिएकै दिन गत पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गरेका हुन्, जुन प्रयास सफल हुन सकेन ।
सरकारले अध्यादेश जारी गरी परिषद्का बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।