नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।
अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु बिहान पौने १० बजेतिर आयोग पुगेका हुन् ।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यसअघि ओली र दाहाल-नेपाल पक्षले फरक-फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल-नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जानेछ ।