कोरोना बिरुद्धको खोप ‘कोभिशिल्ड’ ढुक्क भएर लगाउन अनुरोध


कोरोना बिरुद्धको खोप ‘कोभिशिल्ड’ ढुक्क भएर लगाउन अनुरोध

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए। उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैं हराएर जाने गरेको बताए । 

खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफैं निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक-दुई दिनमा निको हुन्छन् ।”
 
उनले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए। मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ । 

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताए । उनले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताए । 

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारबाट देशभरी नै दिइन थालिएको छ । -रासस