निजगढ विमानस्थलको लागि तत्काल रुख काट्न दिइन्न: वनमन्त्रीआले


[ss_social_share]
लेखक : लेखापढी      १४ माघ २०७७, बुधबार १७:३७ मा प्रकाशित     
निजगढ विमानस्थलको लागि तत्काल रुख काट्न दिइन्न: वनमन्त्रीआले

काठमाडौं । सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रुख कटान हुने अवस्थालाई रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको बताए ।

मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यही माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको जानकारी दिए । मन्त्रिपरिषद्बाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने उनले बताए ।

कार्यविधि खारेजपछि दिगो वन व्यवस्थापनअन्तर्गत कतै पनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि उनले बताए । सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठ–दाउरा प्रचलित कानुनबमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री–वितरण तथा ओसारपसार खुला गर्ने तयारी गरेको उनले जानकारी दिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बजेट सुनिश्चित नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने पनि मन्त्री आलेले प्रष्ट पारे । विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चित भएपछि मात्रै वन मन्त्रालयले प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

मन्त्री आलेले निजगढ विमानस्थल निर्माण गर्दा जुन ठाउँमा एयरपोर्टको रनवे बन्ने हो, त्यही ठाउँमा मात्रै रुख कटानको स्वीकृति दिने बताए । विमानस्थलमा एक हजार ९०० हेक्टरमा मात्रै रनवे बन्ने भएकाले सोही जमिनमा मात्रै रुख कटान गर्न स्वीकृति दिने तयारी भइरहेको उनले स्पष्ट पारे ।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको एक महिनामा मन्त्रालय मातहतका धेरै कार्यक्रमलाई व्यवस्थित गराउन लागेको दाबीसमेत गरे । सिँचाइ नभएका स्थानमा जडीबुटी खेती गर्न सरकारले नै बीउ, बिरुवा उपलब्ध गराउने र उत्पादन भइसकेपछि बजारको व्यवस्थापन गरिदिने योजना बनाएको उनले जानकारी दिए ।

यस्तै, पशुपति आर्यघाटमा निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याउन लागेको मन्त्री आलेले बताए । कस्तुरी चरा, हाब्रेलगायतका १० वटा प्रजातिका चराको बासस्थानको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम घोषणा गर्ने तयारी गरेको पनि उनले बताए ।

महानगरपालिका र उपमहानगरपालिकाभित्र बगैँचा निर्माण गर्न दुई लाख बिरुवा रोप्ने कार्यक्रम पनि अगाडि सारेको मन्त्री आलेले जानकारी दिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •