नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो ।
नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै साधारण सेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा आवेदकको हातखाली जाने छैन । तर, आवेदकले रितपूर्वक आवेदन भने गरेको हुनुपर्छ ।
सिडिएससीका अनुसार आईपीओ निष्काशन गरेको अन्तिम समयसम्म माग भन्दा २.३९ गुणा बढी आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ५८ लाख ४० हजार कित्ता निष्काशन गरेको थियो ।
निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको र शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको बताएकाे छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ ।
आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ । आवेदन दिएका आवेदकमध्ये केहीको आवेदन रद्द भएको खण्डमा, कतिपय आवेदकले ३० कित्ता वा सो भन्दा कम आवेदन दिएको खण्डमा केही आवेदकलाई थप १० कित्ता सहित ६० कित्ता आवेदन पर्ने सम्भावना पनि देखिएको छ । ४० देखि ५० कित्तासम्म आवेदन पर्ने सम्भावना बलियो छ ।