भुँडी : लघुकथा


भुँडी : लघुकथा

झसक्क भयो।

“खोइ के पस्यो पस्यो शरीरभित्र, अलि अप्ठ्यारो अप्ठ्यारो जस्तो लाग्यो।”

देशका प्रमुख वा राष्ट्रप्रमुख वा देशका ठुल्ठुला प्रशासक वा ठुल्ठुला दलका नेताहरूलाई र यस्तै शक्तिका विविध पदमा रहेकाहरूलाई यस्तो भएजस्तो लाग्यो ।

त्यो विश्वविख्यात अतिशक्तिशाली भाइरसले अनुभव गर्यो यो कुरा।

स्वाटस्वाट फोक्सोतिर जानुपर्ने त्यो भाइरस त भुँडी अतिशक्तिशाली हुने जातका ती मानिसहरूका पेटतिर तानिएछ।

स्वाटस्वाट फोक्सोतिर जानुपर्ने त्यो भाइरस त भुँडी अतिशक्तिशाली हुने जातका ती मानिसहरूका पेटतिर तानिएछ। पसिहाल्यो पेटतिर। अब पसेकाजति कहाँ ध्वंस मच्चाउनुपर्यो भनेर लाग्यो भाइरस जोडतोडले विनाश गर्न ।

भाइरसले यस सूचना-प्रविधिको युगमा एकपटक सबैलाई जानकारी दिएर मात्र महाअभियान सञ्चालन गर्ने गणतान्त्रिक सोच बनायो । लकडाउनमा रहेकाले जुम सम्मेलनबाट काम फत्ते गर्ने योजना बनायो र सबैलाई आमन्त्रण गर्यो ।

“महाशय ! भन्नोस् त तपाईँलाई यो देश कस्तो लाग्छ ?”

जताबाट खाए पनि हुने, कहिल्यै अपच नहुने, ज्यादै कमलो, भुँडीभित्र टम्म मिलेर कहिले नदेखिने गरी छपक्कै बस्ने

“अति सुन्दर ! जताबाट खाए पनि हुने, कहिल्यै अपच नहुने, ज्यादै कमलो, भुँडीभित्र टम्म मिलेर कहिले नदेखिने गरी छपक्कै बस्ने, जुन सङ्गीत जताबाट जसरी गाए पनि हुने र सुन्नेहरू त भक्तिमा लीन भएर तालीमा मस्त रहने ! आहाहा !! अनुपम !!!”

अर्को शक्तिशाली पात्रलाई सोध्यो भाइरसले, “यो देशका जनता कस्तो लाग्छ तपाईँलाई ?”

यिनलाई धर्म र राजनीतिको घाँस हालिदिएपछि जिन्दगीभर उग्राएर भक्ति गरिरहन्छन् !

“अहो महाशय ! यिनीहरू जत्तिका गुनिला र रसिला यस विश्वब्रह्माण्डमै कोही छैनन् प्रभो ! यिनलाई धर्म र राजनीतिको घाँस हालिदिएपछि जिन्दगीभर उग्राएर भक्ति गरिरहन्छन् ! मलाई लाग्छ यी अन्त कतै नपाइने खास नमुना हुन्। फलाम देखाएर वा पित्तल देखाएर सुन भने पनि यिनका मुखबाट मौन सम्मति नै पाइन्छ। महान् छन् यी गौप्राणी !”

अन्तमा महाशक्तिशाली पात्र कुम्भकर्ण भुँडीमा मुस्कानमय अनुहारसाथ देखापरेपछि भाइरसले बडो प्रफुल्ल मुद्रामा प्रश्न गर्यो, “हजुरलाई यो देशको राजनीति कस्तो लाग्छ नि ?”

संविधान नै महान् छ जसरी अर्थ्याए नि धूप, दीप, नैवेद्य मानेर मगमगाइदिने एकसेएक हलुवा बुद्धिजीवी भएकाले विनाबिघ्नबाधा घुमिदिन्छ

ड्याउव डकार्दै आवाज निस्कन्छ, “आहा क्या मीठो प्रश्न !! यो देशको राजनीति भनेको महतुल्य उखान हो। जसरी चुट्किला हाल्नोस् यहाँको राजनीतिले च्याट्टै मिलाइदिन्छ। संविधान नै महान् छ जसरी अर्थ्याए नि धूप, दीप, नैवेद्य मानेर मगमगाइदिने एकसेएक हलुवा बुद्धिजीवी भएकाले विनाबिघ्नबाधा घुमिदिन्छ दुनियाँ अनि चुमिदिन्छ हाम्रो नियोजित अभीष्टकारी चटक यहाँका बमभोले चिम्टा बजाउने जनता र बाप्टिस्ट होली वाइनका अम्मली जनताबाट। हाहाहाहाहा….!!”

भाइरस महोदय गज्जबले हाँस्दाहाँस्दै ठूलाठूला सुनका डल्लाहरू महाशक्तिशाली महानुभावका भुँडीभित्र अपलोड भएपछि बिचरा भाइरस परमधाम।

“नाथे भाइरस ! चिनेको छस् हाम्रो भुँडीलाई !!”, महाशक्तिशालीहरू मुसुमुसु।


 भरतकुमार भट्टराई
हात्तीबन, ललितपुर, नेपाल
२०७७/१०/११


(“आधुनिक नेपाली लघुकथा समूह” सँगको सहकार्यमा हरेक हप्ता सोमबार लघुकथा प्रकाशन गर्ने गरेका छौं । )

Email Address for Contact : lekhapadhimedia@gmail.com
Visit us: www.lekhapadhi.com