प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गरेका छन्। ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्। ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन्,’ उनले भने।
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए । ‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’
उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे ।