खेलाडीको रोकिएको प्रोत्साहन भत्ता वितरण


खेलाडीको रोकिएको प्रोत्साहन भत्ता वितरण

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले शुक्रबार रोकिएको प्रोत्साहन भत्ता निकासा भएको जानकारी गराएको छ ।

पछिल्लो ६ महिनाबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता निकासा भएको छ ।

संघका अध्यक्ष दिपक श्रेष्ठले ६ महिनायता रोकिएको प्रोत्साहन भत्ता खेलाडीको बैंक खातामा जम्मा भएको बताएका छन् ।

‘अघिल्लो आर्थिक वर्षसम्म प्रोत्साहन भत्ता पाउँदै आएका खेलाडीको बैंक खातामा जम्मा भएको छ । यसका लागि आवश्यक पहल र निर्देशन दिनुहुने युवा तथा खेलकुद मन्त्री दाबा लामा र राखेप सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तर्फबाट आभार व्यक्त गर्न चाहन्छौं,’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले ओलम्पियनलाई मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले ६ हजार र सागका स्वर्ण पदक विजेतालाई ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आईरहेको छ ।

खेलाडी संघले रोकिएको भत्ता पाउनुपर्ने माग गर्दै आइरहेको थियो । संघले गत पुस २२ गते नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

तर, नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ ।

खेलाडीले १३ औं सागका विजेतालाई भने प्रोत्साहन भत्ता निकासा गर्दा नसमेटिएको बताएका छन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।

यस्तै संघले खेलाडीले प्रोत्साहन भत्ता पाउने निश्चित नहुदासम्म आफ्नो अभियानलाई निरन्तर जारी राख्ने समेत जनाएको छ ।