सहमतिको म्याद गुज्रिएपनि उखु किसानले बक्यौता पाएनन्, १८ कराेड अझै बाँकी


सहमतिको म्याद गुज्रिएपनि उखु किसानले बक्यौता पाएनन्,  १८ कराेड अझै बाँकी

चिनी मिलबाट ९० करोड बढी बक्यौता दिलाइदिन सरकारले किसान प्रतिनिधिसँग गरेको सहमतिको म्याद गुज्रिएको छ । सरकारले बाचा गरेअनुसार तोकेको समयमा उद्योगहरुबाट सबै बक्यौता रकम नपाएको उखु किसानहरुले गुनासो गरेका छन् ।

केही मिलबाट भुक्तानी सुरु भए पनि तोकिएकै समयमा सबै रकम भुक्तानी गरिदिन सरकारले गरेको सहमति पालना नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ। रु ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले रु साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।    

उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले रु ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उहाँको भनाइ छ ।    

सहमतिअनुसार आज साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न शुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरुपमा भुक्तानी गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो ।