प्रस्तावित निजगढ विमानस्थल: आयोजना क्षेत्रभित्र पर्ने बस्ती व्यवस्थापन मुख्य चुनौती


[ss_social_share]
लेखक : लेखापढी      ४ माघ २०७७, आईतवार १६:०५ मा प्रकाशित     
प्रस्तावित निजगढ विमानस्थल: आयोजना क्षेत्रभित्र पर्ने बस्ती व्यवस्थापन मुख्य चुनौती

बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना क्षेत्रभित्र पर्ने बस्ती व्यवस्थापन विमानस्थल निर्माणको मुख्य चुनौतीका रूपमा रहेको बताइएको छ।

एक हजार चार सय ७६ घरधुरी बसोबास रहेको टाँगिया बस्तीका बासिन्दाले या स्थानान्तरण गर्नुपर्ने नत्र आधारभूत पूर्वाधार विस्तार गर्नुपर्ने माग गर्दै आएका छन्।

आयोजनाका अधिकारीहरू भने बस्ती व्यवस्थापनको टुङ्गो लागेर कामले गति लिने बताउँछन्।

बस्ती व्यवस्थापनमा ढिलाइ गर्दा उक्त क्षेत्रमा घर सङ्ख्या बढ्दै गएको पाइन्छ।

घरसङ्ख्या बढ्दा आयोजना तथा स्थानीयवासी दुवैका लागि चुनौती थपिँदै गएको छ।

 

विमानस्थल क्षेत्रको बीच भागमै रहेको टाँगिया बस्तीमा ८,००० भन्दा बढी मानिसको बसोबास छ।

यो क्षेत्र ६५० भन्दा बढी बिगाहामा फैलिएको छ।

विसं २०३०-०३१ सालतिर फिनल्यान्ड सरकारको सहयोगमा पुरानो रुख कटान गरी पुनः वृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब १५० घरधुरीलाई ल्याइएको बताइन्छ।

बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिएपनि त्यो हुन नसक्दा अहिलेको टाँगियाबस्तीले स्थायी रूप लिन पुगेको बताइन्छ।

बस्तीतस्बिर स्रोत,MADHURIMAHATO/BBC

जितपुर सिमरा उपमहानगरपालिका-१६ मा पर्ने उक्त बस्तीका बासिन्दा चार दशकदेखि सुकुम्वासीनै भएर बस्नुपरेकोले अन्यत्र सारिने ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकी लगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाँगियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ।

बासिन्दाको गुनासो

विकास कार्यमा बाधा नपुर्‍याउन बस्ती छोड्न तयार रहेपनि सरकारले हालसम्म अपहेलना मात्रै गरेको बस्तीकी टुकाकुमारी अधिकारीले गुनासो गरिन्।

उनले भनिन्, “सरकारले पशु समान व्यवहार गरेको छ हामीसँग । खानेपानी लिन घण्टौँ कुर्नुपर्छ। पीडैपीडाको थुप्रो मात्रै छ यहाँ । कि त हामीलाई सरकारले स्थानान्तरण गरोस् कि हामीलाई सबै सुविधा यहीँ होस्।”

किशोरकिशोरीहरूले पनि विभिन्न समस्याबाट गुज्रिनुपरिरहेको बताउँछिन् कक्षा ९ मा अध्ययनरत एक विधार्थी मौसमी विश्वकर्मा।

जङ्गलको बाटो भएर एक घण्टा टाढाको स्कूल डराइ-डराइ जाने गरेको उनले बताइन्।

“बिजुली बत्ती नहुँदा पनि पढ्न लेख्न र सुरक्षित बस्न समस्या छ।”

स्थानान्तरण पनि नगरेको र सबै गतिविधि रोक्का गरिदिएकाले अन्योलमा बाँच्न बाध्य भएको बस्तीकी पवित्रमाया कार्कीले गुनासो गरिन्।

उनी भन्छिन्, “जमिन राखेर छोराछोरीले ब्याङ्कबाट पैसा झिकेर कतै बाहिर काम वा पढाइका लागि जान खोज्दा पनि सकिन्न। ऋण पनि टाँगियाबासीलाई दिन कसैले पत्याउँदैन। “

विमानस्थल आयोजना कार्यालयले २०७४ सालमा तयार गरेको वातावरणीय प्रभाव मुल्याङ्कन ईआईए प्रतिवेदनमा टाँगियाँबस्तीमा १,४७६ घरधुरी रहेको उल्लेख भएको थियो।

तर, अहिले उक्त क्षेत्रमा परिवाससङ्ख्या वृद्धि भएर घरधुरी सङ्ख्या दुई हजार नाघेको बताईएको छ।

यसरी सरकारले बस्ती व्यवस्थापन ढिलो गरेमा अर्को वर्ष झन् वृद्धि हुनपुग्ने टाँगियावस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बताए।

उनले भने , “गाँसबासको व्यवस्था गर, घरको व्यवस्था गर। कमाउने आधार देउ ,माटो लेउ माटो नै देउ भन्ने हाम्रो माग हो।”

विमानस्थल आयोजना कार्यालयले टाँगियावस्तीमा नयाँ घरहरु निर्माणमा रोक लगाएको दाबी गर्दै, थपिएका घरहरुको जिम्मा नलिने जनाउँदै आएको छ भने उता टाँगियाबस्तीको हकमा भने बस्ती व्यवस्थापनको ढाँचा कस्तो रहने भन्ने विषयमा निर्णय हुन नसक्दा काम अगाडि बढ्न नसकेको बताइएको छ।

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराका प्रवक्ता विजय यादवका अनुसार बस्ती व्यवस्थापनका लागि गृहकार्य धेरै भइसकेको तर निर्णय केही भएको छैन।

दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी-इन्फ्रा-बीडीए जेभीलाई जिम्मेवारी दिइएको छ।

अहिले पहिलो चरणको कार्यक्रम अन्तर्गत मुआब्जा वितरण, रुख गणना लगायत काम भइरहेको प्राधिकरणले जनाएको छ।
-BBC

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •