पोर्चुगलमा पनि पुनः देशव्यापी लकडाउन


पोर्चुगलमा पनि पुनः देशव्यापी लकडाउन

कोरोनाभाइरसको संक्रमण बढेपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशभरि लकडाउन घोषणा गरेको छ। 

एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन्।

देशभरी लकडाउन भए पनि विद्यालय भने खुलै रहने कोस्टाले बताए। बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ।

पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ।

दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ। प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताएका छन्।

 यसअघि अर्को युरोपियन मुलुक बेलायतले पनि देशव्यापी लकडाउन घोषणा गरेको थियो भने फ्रान्सले साँझ ६ बजेपछि रात्रीकालीन कर्फ्यू लगाएको थियो।

पोर्चुगलमा लकडाउन नियम उल्लंघन गर्नेलाई दोब्बर जरिवाना तिकिएको छ |-एजेन्सी