२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा नेपालका विभिन्न राष्ट्र भाषाहरुका गीतहरुको प्रस्तुति ‘हाम्रो निधिः हाम्रो संस्कृति’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना गरेकाे छ ।
कार्यक्रममा विभिन्न राष्ट्रभाषाका ८ वटा साङ्गीतिक प्रस्तुति रहेको थियो । कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिंदै संस्कृति मन्त्री ढकालले पृथ्वीनारायण शाहको दिव्याेपदेशको वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयाे ।
कार्यक्रमको साङ्गीतिक सुरुवात फोकमाण्डु सोसाइटी समूहका कलाकारहरुले नेवारी धुन बजाएर प्रारम्भ गरेका थिए । सुमन लिम्बू, दिवश पयाङ्गु लगायतको समूहले लिम्बू भाषाको गीत, बन्दना मैनालीले भोजपुरी भाषाको गीत, छेवाङ तेन्जिङ लामा, सीता घ्लान लामा, प्रमला दङ लामा, जुना मोक्तान सोनम लामा, विजय रुम्बा लगायतको समुहले तामाङ गीत प्रस्तुत गरेका थिए ।
त्यसैगरी शिला विष्ट, बिपिन धिमिरे, दिपेन्द्र बज्राचार्य, तिर्थ पोख्रेल, दुर्गा परियार लगायतका समुहले ‘सयथरी बाजा एउटै ताल..’ बोलको गीत प्रस्तुत गरे भने कृष्ण गुरुङ, टीका गुरुङ, क्षितिज गुरुङ सहितको टोलीले गुरुङ भाषाको गीत प्रस्तुत दिएका थिए ।
देवी राम राना मगर, कृष्ण पुन मगर, नन्द घर्ती मगर, बिरता पुन मगर र तुलसा घर्ती मगर सहितको समूहले मगर भाषामा साङ्गीतिक प्रस्तुति दिए भने सन्जय तुम्रोक र दुर्गा परियारले ‘पूर्वको माया पश्चिमलाई’ गीत प्रस्तुत गरे ।
कार्यक्रममा भरत बुढाथोकी, खड्ग बुढा मगर, देब राई, नरेश प्रजापति, लोकराज राई, कृष्ण गुरुङ, दुर्गा खतिवडा, सुधिर चौधरी, सूर्य मगर तथा नरेन्द्र चौधरी लगायतको समुहले वाद्यवादनमा गायक गायिकाहरुलाई साथ दिएका थिए ।
कार्यक्रममा सहभागी कलाकारहरु तथा प्रज्ञा प्रतिष्ठानले पौष ९ देखि १५ गतेसम्म सङ्गीत प्रवीण नरराज ढकालको शतवार्षिकीका अवसरमा सञ्चालन गरेको शास्त्रीय सङ्गीत सम्मेलनमा सहभागी कलाकारहरुलाई मन्त्री ढकालद्वारा प्रशंसा पत्र वितरण गरिएको थियो ।
कार्यक्रम सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईको संयोजनमा आयोजना भएको हो l