इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।उडान भरेको केहीबेरमा नै श्रीविजया एयर बोइङ ७३७ विमान बेपत्ता भएको हो ।
फ्लाइट राडारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त विमान एक मिनेटमा १० हजार फिट तल झरेको थियो । उक्त विमान दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँको पारवहन मन्त्रालयले बेपत्ता विमानको खोजी जारी रहेको जनाएको छ ।
विमानमा ६२ जना सवार थिए ।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।