राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औ जयन्ती समारोहका लागि कांग्रेसी, एमाले, कम्युनिस्टहरुसहित पूर्वप्रधानसेनापति, पूर्वसचिवहरुको भेला


राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९औ जयन्ती समारोहका लागि कांग्रेसी, एमाले, कम्युनिस्टहरुसहित पूर्वप्रधानसेनापति, पूर्वसचिवहरुको भेला

काठमाडौँ- पूर्वकांग्रेसीहरुको नेतृत्वमा गठन भएको २९९औं पृथ्वी जयन्ती समारोहमा पूर्वकांग्रेसीहरु, कम्युनिस्टहरुसहित पूर्वप्रधानसेनापति, पूर्वसचिवसहित पूर्वराजावादीहरु भेला भएका छन् । भेला भएका राजावादीहरुले असली राजावादी कमल थापा वा अन्य समूह नभएर आफूहरु भएको दाबी गरेका हुन् ।

विपिन कोइराला र हरिबोल भट्टराईको संयोजकत्वमा गठन भएको राजावादी अभियानमा नेकपा मालेका महासचिव सीपी मैनाली, ज्ञानेन्द्रको मन्त्रिपरिषद्‌का सदस्य राधाकृष्ण मैनाली, बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र नातिनी तथा अभिनेत्री मनीषा कोइराला, भैरवबहादुर थापा, पूर्वप्रधानसेनापतिहरु रुकमाङ्‌गत कटवाल र प्यारजंग थापा, पूर्वसचिवहहरु द्वारिकानाथ ढुंगेल तथा देवेन्द्र सिटौला, नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल, पत्रकार युवराज घिमिरे र अदित्यमान श्रेष्ठ, डा. केबी रोकाया, डा. प्रेमसिंह बस्नेत सहित सहभागी थिए ।

भेलामा पृथ्वीनारायण शाहको योगदानका कारण राष्ट्रनिर्मातालाई देशले भूलेको भन्दै धेरैले असन्तुष्टि जनाएर पृथ्वी जयन्तीका सन्दर्भलाई मात्र केन्द्रित गरे पनि अभियानका संयोजक विपिन कोइरालाले भने देशमा राजतन्त्र आवश्यक भएको भन्दै भेलाको वास्तविकता खुलासा गरेका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्रमा पूर्वराजा नै लोकतन्त्रलाई मान्ने व्यक्ति भएको भन्दै यस्ताबाट लोकतन्त्र र देश दुवैको रक्षा सम्भव नभएको बताए ।

“संविधानसभाले गणतन्त्रमा जाने निर्णय गरेर जाउँभन्दा राजा ज्ञानेन्द्र र बहुमतको निर्णय मान्दिनँ भन्दै संसद् विघटन गर्ने प्रधानमन्त्री ओली को लोकतान्त्रिक हुन्छ ?” कोइरालाले भने, “निश्‍चय पनि यस्ता व्यक्तिबाट देश र लोकतन्त्र दुवैको रक्षा हुन सकेन ।” उनले राष्ट्रपतिबाट पनि संविधान र देशको रक्षाका लागि उपयुक्त भूमिका नदेखिएकाले राजतन्त्र अनिवार्य भएको बताए ।

पत्रकार आदित्यमान श्रेष्ठले त कमल थापासहितका राजावादीहरु देशको रक्षाका लागि नभएर आफ्नो राजनीतिक लाभका लागि मात्र राजाको कुरा उठाइरहेको भन्दै असली राजवादी आफूहरु नै भएको दाबी गरे ।

कार्यक्रममा प्रस्तुत गरिएको चार पृष्ठको कार्यपत्र पत्रकार युवराज घिमिरे, आदित्यमान श्रेष्ठ र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले तयार पारेका हुन् ।

कार्यपत्रले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिन, नेपाल सरकारका तर्फबाट भव्य कार्यक्रम आयोजना गर्न, पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरबारलाई पृथ्वी संग्राहलयका रुपमा विकास गर्न, दिव्योपदेशलाई पाठ्यसामग्री बनाउँदै स्कुल र कलेजको कोर्सबुकमा राख्‍न, शाहको जीवनीमा आधारित वृत्तचित्र सरकारकै तर्फबाट बनाउन तथा पृथ्वीनारयण शाहको तस्बिर अंकित मुद्रा तथा सिक्का अर्को वर्षदेखि प्रचलनमा ल्याउन माग गरिएको छ । 

०६२/६३ सालको जनआन्दोलनको दबाबमा संसद् पुन:स्थापित भएपछि पनि पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हटाएका थियो । त्यसयता नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइए पनि सरकारले भने दबाबमा कहिले बिदा दिने कहिले नदिने गर्दै आएको छ । 

राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा/संस्कृतिसँग महत्त्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउँसो सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकअगाडि भेला हुन आग्रह गरेका छन् ।