काठमाडौं । संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन जुलुस निकालेको छ ।
माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरमा गएर कोणसभामा परिणत हुने विद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ?’ लगायत नारा तथा ब्यानरसमेत प्रदर्शन गरेका छन् ।
संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियुको एउटा समूह सडकमा आएको हो ।
रन्जित तामाङले नेतृत्व गरेको अनेरास्ववियुले बुधबार माइतीघर मण्डलमा प्रधानमन्त्रीले दिउँसै रात पारेको भन्दै उज्यालोको खोजीमा लालटिन जलाउनुपरेको विद्यार्थीहरूले बताएका छन् ।
अनेरास्ववियुले सरकारको पछिल्लो कदमविरुद्ध हिजो (मंगलबार) मात्र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो ।