विश्व खेलकुदमा वर्ष २०२० कस्तो रह्यो? खेलकुद समिक्षा !!


विश्व खेलकुदमा वर्ष २०२० कस्तो रह्यो? खेलकुद समिक्षा !!

सन् २०२० विश्व खेलकुद क्षेत्रमा निरासा छाएको थियो । बिश्वभर कोरोनाभाइरसको महामारीका कारण यो वर्ष खेलकुद गतिविधि ठप्प रह्यो ।

वर्ष सन् २०२० बिदा हुँदै शुक्रबारबाट २०२१ सुरु भएको छ । २०२० सुखद् नभए पनि २०२१ उत्साहपूर्ण हुने सबैको अपेक्षा छ । खेलकुद क्षेत्रमा २०२० मा केही विषयहरु चर्चामा रहे ।

२०२० ले महान खेलकुद हस्तीहरु गुमाउन पुग्यो । विश्व फुटबलका महान् हस्ती अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनादेखि बास्केटबलका लिजेन्ड कोबे ब्रायन्टलाई गुमायो ।

सन् २०२० मा खेलकुद क्षेत्रमा भएका केही महत्वपूर्ण घटनाहरुको यहाँ चर्चा गरिएको छ ।

फुटबल लिजेन्ड गुमाएको वर्ष 
सन् २०२० को अन्त्यतिर विश्व फुटबलजगत नै स्तब्ध बनाउने घटना घट्यो । सर्वकालीन महान् फुटबल खेलाडी म्याराडोनालाई गुमाउन पुग्यो । उनी सन् १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउनेदेखि लिएर लागुऔषधको कारण पनि चर्चामा रहेका थिए ।

बास्केटबलका लागि अँध्यारो वर्ष 
सन् २०२० बास्केटबलका लागि सम्झनलायक वर्ष भने रहेन । बास्केटबलले आफ्नो लिजेन्ड तथा च्याम्पियन खेलाडी गुमाउन पुग्यो । सन् १९७८ मा जन्मेका कोबे ब्रायन्टको २०२० को पहिलो महिनामा नै निधन भयो ।

उनको निधनले धेरै खेल हस्तीहरुलाई रुवायो । वर्षको सुरुआत नै नराम्रो कुराबाट भएको बास्केटबल क्षेत्रलाई पूरै वर्ष नै नराम्रो भयो ।

ब्रायन्टको निधन भने स्वाभाविक थिएन । हेलिकोप्टर दुर्घटनामा परेर उनको निधन भयो । उनीसँगै उनकी छोरीले पनि ज्यान गुमाइन् ।

लिभरपुलका लागि ऐतिहासिक वर्ष 
सन् २०२० लिभरपुलका लागि ऐतिहासिक वर्षका रुपमा रहन गयो । यो वर्ष लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

३० वर्षयता उपाधिका लागि पर्खेको लिभपुललाई प्रशिक्षक योर्गेन क्लोपले उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे । उनले लिभपुललाई उपाधि मात्र दिलाएनन्, क्लबका लागि एक नयाँ इतिहास रचे ।

लिभरपुलले इंग्ल्यान्डको डिभिजन जितेको यो ३० वर्षपछि पहिलो थियो । उसले अन्तिमपटक सन् १९९० मा लिग उपाधि जितेको थियो । लिभरपुलले ठूलो अंकको अन्तरमा लिग उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

ओलम्पिक रोकिएको वर्ष 
सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक सार्नुपर्ने अवस्था आयो । जस्तोसुकै महामारीको समयमा पनि अर्काे देश तथा ठाउँमा गर्न मिल्ने ओलम्पिक यो वर्ष सार्नुपरेको थियो ।

वर्ष २०२० ओलम्पिक आयोजना हुने वर्षका रूपमा रहेको थियो । तर, कोरोनाभाइरसको महामारीका कारण रद्द हुने धेरै प्रतियोगितामध्ये यो नै सबैभन्दा ठूलो रह्यो । अन्ततः ओलम्पिक सन् २०२१ मा हुने भएको छ ।

भारतको ऐतिहासिक हार 
वर्षको अन्त्यतिर टेस्ट क्रिकेटमा भारतको लज्जास्पद इतिहास बन्न पुग्यो । विश्व क्रिकेटमा बलियो मानिएको भारत टेस्ट क्रिकेटमा मात्र ३६ रनमा अलआउट भयो ।

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोली टेस्ट क्रिकेटमा ३६ रनमा अलआउट हुँदा चौतर्फी आलोचना खेप्यो ।

एडिलेडमा भएको चार टेस्ट शृंखलाको पहिलो खेलमा भारत आफ्नो दोस्रो इनिङ्समा ३६ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाले उक्त खेल रोमाञ्चक तरिकाले जित्यो । यसरी टेस्ट क्रिकेटमा भारत पराजित हुनुपरेको पहिलोपटक हो ।

जोकोभिच अयोग्य घोषित
टेनिस खेल पछ्याउनेहरुका लागि नोभाक जोकोभिच नयाँ नाम होइन । टेनिस खेलमा आफ्नो बेग्लै पहिचान बनाएका जोकोभिच अयोग्य घोषित हुन पुगे ।

विश्व नम्बर–१ टेनिस खेलाडी यूएस ओपनको उपाधिका लागि बलियो दाबेदार थिए । उनी १८औँ ग्रान्डस्लाम उपाधि जित्ने संघारमा पनि थिए । त्यसमाथि रोजर फेडेरर र राफेल नाडाल प्रतियोगिता सहभागी थिएनन् ।

तर, चौथो चरण पुग्दा यी सर्बियाली खेलाडीका लागि सबथोक खराब साबित भयो । सर्भिस गुमाएको रिसमा यी ३३ वर्षीय खेलाडीले प्रहार गरेको बल लाइन–जजको घाँटीमा लाग्यो र जोकोभिचलाई प्रतियोगिताबाट निष्कासन गरियो । उनलाई अयोग्य घोषित पनि गरियो । जुन विश्व खेलकुदमा चर्चाको विषय रह्यो । –एजेन्सी