लमही । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६१ रनको सामान्य लक्ष्य एपीएफले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरको हो ।
एपीएफका लागि ज्योेती पाड्यले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले १९ रन बनाउँदा कप्तान सीता राना मगरले ७ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमका लागि कविता कुँवरले एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । त्यस्तै रेवती धामीले १२ रन बनाउँदा सम्झना खड्काले ३ रनको योगदान गरिन् ।
बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कप्तान सिता राना मगरले पनि एक विकेट लिन सफल भइन् ।
खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको खेलमा दुबै टोली दबाबमा रहेका छन् । मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको थियो ।
साविकको विजेता एपीएफले लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यसअघिका तीन सिजनमा एपीएफले उपाधि जिति सकेको छ ।