निर्वाचन आयोग भन्छ – ‘प्रधानमन्त्रीले झुटो बोल्नुभयो’


निर्वाचन आयोग भन्छ – ‘प्रधानमन्त्रीले झुटो बोल्नुभयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ । 

शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले आफूहरु नै आधिकारिक भएको र सूर्य चिन्ह पनि आफूहरुसँग नै रहको बताए ।

‘उहाँहरुले निर्वाचन आयोगमा निवदेन दिनुभएको रहेछ । आयोगले हिजो उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर फिर्ता पठाइदियो’ ओलीले भने, ‘उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी थियो । त्यो दाबी निवदेनमा अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन पनि उल्लेख नभएको, केही प्रमाण नभएको यसको केही अर्थ छैन भनेर फिर्ता पठाइदियो ।’

उनले अगाडी भने, ‘सूर्य चिन्ह हामीले पाउँ भनेर उहाँहरु जानुभएको थियो, निर्वाचन आयोगले अस्वीकार गर्‍यो । हामी निर्वाचन आयोग गएका छैनौं र जान आवश्यक पनि छैन, किनभने हामी अधिकारिक हौं । सूर्य चिन्ह हामीसँगै छ ।’

निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले दाबी गरे जस्तो कुनै निर्णय नभएको बताएको छ ।  निर्वाचन आयोग र दाहाल-नेपाल पक्षले भने आयोगले त्यस्तो निर्णय गरेको कुरालाई अश्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ दल नेकपा विभाजन भएको छ । ओली र दाहाल-नेपाल पक्षले अहिले कानुनी रूपमा आफूहरू आधिकारिक भनिरहेका छन् । त्यसका लागि दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेका छन् ।