संसद् विघटनविरुद्ध नेकपाको विरोधसभाः आन्दोलन कठोर बनाउने चेतावनी


संसद् विघटनविरुद्ध नेकपाको विरोधसभाः आन्दोलन कठोर बनाउने चेतावनी

१४ पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ ।

संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा-प्रचण्ड) नेपाल समूहले मंगलबार काठमाडौंमा विरोधसभा गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विरोधसभामा उपत्यकाका तीनै जिल्लाबाट प्रचण्ड-ओली समूहका नेता तथा कार्यकर्ता जुलुससहित पुगेका थिए । 

राजधानीमा आयोजित विरोध कार्यक्रममा प्रचण्डले आफूहरूको आन्दोलन प्रतिनिधिसभाको विघटनको कदम नसच्याइएसम्म नरोकिने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओली वैशाखपछि प्रधानमन्त्री नरहने र त्यसपछि उनको राजनीतिसमेत पत्तासाफ हुने बताए । उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

माधव नेपालले ओलीलाई पूर्वराजा ज्ञानेन्द्रकै पथमा लागेको आरोप लगाए । 

प्रचण्डले पार्टी विभाजनका लागि ओलीले एक वर्षदेखि षडयन्त्र गरेको भन्दै त्यसका लागि अलग्गै दल दर्ता गराउनेदेखि अध्यादेश ल्याउने र आफूलाई छलेर प्रतिनिधिसभा विघटन गर्नेसम्मको कदम ओलीले चालेको माधवकुमार नेपालले बताए।

राजधानीको भृकुटीमण्डपमा भएको कार्यक्रममा नेपालले ‘निरकुंश बाटो समाएका प्रधानमन्त्री ओली र त्योसँग जोडिएको प्रवृत्तिको आयु समाप्त भएको’ बताए।

उनले भने, “केपी ओलीमा व्यक्तिवाद र गुटवाद हाबी भएको छ। उहाँमा कम्युनिस्टमा हुने गुणहरू पनि छैनन्। लोकतन्त्रवादीहरूमा हुने आचरण पनि छैनन्।”

“अध्यक्षबाट हटाए पनि अझै पनि हामीले उहाँले केन्द्रीय कमिटी सदस्यबाट हटाएका छैनौँ, सुध्रिनुहुन्छ भन्ने मौका दिइरहेका छौँ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनालले रहरले भन्दा पनि प्रधानमन्त्री केपी ओलीको संविधान मिच्ने तानाशाही कदमले आफूहरूलाई सडकमा आउन बाध्य पारेको बताए।

उनले जनआन्दोलनको आँधीबेहरी ल्याएर संविधानको रक्षा गर्नुपर्ने र देशलाई अस्थिरताबाट जोगाउनुपर्ने धारणा राखे।

उनले भने, “जबसम्म संसद्को पुनर्स्थापना हुँदैन, त्यस बेलासम्म राष्ट्रव्यापी आन्दोलन अघि बढाउनुपर्ने अवस्थामा हामी आइपुगेका छौँ।”

बुधबार, थप आन्दोलन घोषणा गर्ने तयारी यो समूहले गरेको छ । दोस्रो चरणको विरोधसभालाई सर्वदलीय बनाउने यो समूहको योजना छ । यसअघि पुस १३ मा कांग्रेस र पुस १२ मा जनता समाजवादी पार्टीले देशभर संसद विघटन विरुद्धमा प्रदर्शन गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी पनि सडक सङ्घर्षमा छन्। – एजेन्सीकाे सहयाेगमा