अष्ट्रेलिया र चीन सम्बन्धमा दरार


[ss_social_share]
लेखक : लेखापढी      ८ पुष २०७७, बुधबार १४:५६ मा प्रकाशित     
अष्ट्रेलिया र चीन सम्बन्धमा दरार

अष्ट्रेलिया र चीनबीचको भाइचारा सम्बन्धमा दरार उत्पन्न हुन थालेको छ । विश्लेषकहरुका अनुसार कोभिड–१९ महामारीको उत्पत्ति र नियन्त्रण गर्ने सवालमा चीन असफल भएको विषयलाई लिएर अष्ट्रेलियाले चीनविरुद्ध औंला ठड्याएपछि उक्त आरोपको जवाफमा चीनले अष्ट्रेलियाबाट निर्यात हुने केही उत्पादनहरुमा सीमा शुल्क भारी मात्रामा वृद्धि गराएर व्यापार युद्धको सुरुवात गर्यो ।

राजनैतिक एबं व्यापारिक रुपमा यी दुई बिकसित मुलुकहरुबीच केहि महिनायता सम्बन्ध बिग्रिदै आएको देखिन्छ |

कोभिड–१९ महामारीको उत्पत्ति चीनको वुहान शहरबाट भएको र चीन सरकार उक्त महामारी रोक्न असफल भएको भन्दै गत अप्रिल महिनामा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विश्व स्वास्थ्य संगठनसमक्ष निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । उक्त आरोपलाई चीनले अझैसम्म नकार्दै आएको छ ।

विश्लेषकहरुका अनुसार अष्ट्रेलियाको यही आरोपका कारण चीन अष्ट्रेलियासँग रिसायो र उक्त भनाइ फिर्ता नलिए ‘नकारात्मक नतिजा’ भोग्न अष्ट्रेलियालाई धम्की दियो । अष्ट्रेलिया आफ्नो भनाइमा अडिग देखिएपछि यही वर्षको मे महिनाबाट चीनले अष्ट्रेलियामा उत्पादन हुने जौको निर्यातमा ८० प्रतिशत सीमा शुल्क वृद्धि गर्यो ।

जौ रोप्ने सिजनताका लिइएको उक्त निर्णयले अष्ट्रेलियाका किसानहरुमा निराशा छायो, जसका कारण यी दुई देशको करिब १५ अर्ब डलरको जौ व्यापार संकटमा फर्यो । यसले अष्ट्रेलियाको अर्थतन्त्रमा धेरै ठूलो घाटा लागेको विश्लेषकहरु बताउँछन् ।  यहीँबाट यी दुई देशको व्यापार युद्ध सतहमा आयो ।

यसपछि पनि अष्ट्रेलियाले आफ्नो भनाइबाट पछि नहट्ने हठ लियो भने चीनले अष्ट्रेलियाबाट निर्यात हुने अन्य उत्पादनहरुमा पनि प्रतिवन्ध लगाउँदै गयो ।

जौको निर्यातमा भारी मात्रामा सीमा शुल्क लगाएको चार दिनपछि चीनले अष्ट्रेलियाका चार वटा मासु प्रशोधन केन्द्रबाट उत्पादन हुने गाईको मासु खरिदमा एक्कासी प्रतिबन्ध लगायो । त्यसपछि ७ वटा मासु प्रशोधन केन्द्रबाट उत्पादन हुने मासुको आयातमा चीनले पूर्णरुपमा प्रतिबन्ध लगायो ।

त्यति मात्र होइन, विभिन्न कारणहरु देखाउँदै अष्ट्रेलियाबाट उत्पादन हुने वाइन, काठ, कोइला लगायतका करिब १३ वटा उत्पादनहरुमा हालसम्म चीनले पूर्णरुपमा प्रतिवन्ध लगाएको छ ।

महामारीका कारण पहिल्यैदेखि नै धरापमा परेको अष्ट्रेलियाको अर्थतन्त्र चीनको एक पछि अर्को प्रतिवन्धका कारण झन् लथालिंग भयो ।

महामारीका कारण बन्द भएको व्यापार व्यवसाय र धेरथोर उत्पादित वस्तु निर्यातमा चीनले प्रतिबन्ध लगाएका कारण जुन महिनामा अष्ट्रेलियाका अर्थमन्त्रीले देशमा आर्थिक संकट आएको आधिकारिक रुपमै घोषणा गरे ।

चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो ‘ट्रेडिङ्ग पार्टनर’ हो । अष्ट्रेलियामा उत्पादित सामाग्रीको निर्यातको कुल ३२ दशमलब ६ प्रतिशत चीनमा निर्यात हुन्छ । अर्थशास्त्रीहरु तथा विश्लेषकहरु यी दुई देशको सम्बन्ध झन् चिसिएमा भविष्यमा यी दुवै देशलाई घाटा हुने कुरा औल्याउँदै आएका छन् ।

वर्तमान अवस्थामा यी दुई मुलुकबीच देखिएको व्यापारिक तथा कूटनीतिक तनावले कुन मोड लिन्छ भन्ने आगामी दिनले देखाउँछ । तर विश्लेषकहरुका अनुसार दुवै देशले आ–आफ्नो राष्ट्रिय हितलाई नोक्सान नहुने गरी साझा प्रोजेक्टहरुमा काम गर्नु पर्ने सुझाव दिएका छन् ।

हालसम्मको स्थिति हेर्ने हो भने, यी दुई मलुकबीचको सम्बन्ध चाँडै नै सुध्रिने अवस्था देखिँदैन । अब हेरौं, सम्बन्ध सुधारका निम्ति कुन मुलुकले कस्तो कदम चाल्नेछन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •