कृष्ण पहाडीसहित १६ अधिकारकर्मी गिरफ्तार (तस्बिरसहित)


कृष्ण पहाडीसहित १६ अधिकारकर्मी गिरफ्तार (तस्बिरसहित)

काठमाडौं । प्रतिगमन मुर्दावाद भन्दै कृष्ण पहाडीलगायतका शान्ति समाजका अभियन्ताहरुले सिंहदरबारको दक्षिण ढोकाअघि धर्ना दिएका छन् । 

प्रतिनिधिसभा विघटन भएको विरोधमा मानव अधिकार तथा शान्ति समाजद्वारा सिंहदरबार दक्षिण ढोका अगाडि धर्ना दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतका कारण प्रतिनिधिसभा विघटन हुनु निन्दनीय रहेको अधिकारकर्मी पहाडीले बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानवअधिकार तथा शान्ति समाजको ठहर छ । देशामा भयावह स्थिति सिर्जना गरेका छन् ।

प्रदर्शनमा समाजका संस्थापक सभापति पहाडीले विरोध प्रदर्शनमा संसद् विघटन, लोकतन्त्रको सबैभन्दा ठूलो उपहास, कुशासनमा लिप्त ओली सरकार तथा  प्रतिगमनको सबैभन्दा ठूलो मतियार ओली भएको दाबी गरे । उनले भने, ‘‘ओली सनकले देशको अवस्था भयावह बनाएको छ ।’’

पहाडीसहित १६ अधिकारकर्मी पक्राउ
यसै क्रममा सिंहदरबार दक्षिण ढोका अगाडि समाजले गरेको प्रदर्शनमा सहभागी कृष्ण पहाडीसँगै १६ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलगायत रहेको समाजले जनाएको छ ।