श्रीलंकालाई विश्वकप जिताएका डेभ वाट्मोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त


श्रीलंकालाई विश्वकप जिताएका डेभ वाट्मोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक डेभ वाट्मोर नियुक्त भएसँगै नेपाली क्रिकेट जगतमा नयाँ उर्जाको सञ्चार भएको छ ।  नेपाली क्रिकेटको इतिहासमै वाट्मोटर सबैभन्दा ‘हेबिवेट’ प्रशिक्षक हुन् ।  एसोसिएट क्रिकेटमा उदाउँदै गरेको नेपाललाई वाट्मोरको प्रशिक्षणले विश्व क्रिकेटमा थप उचाइ दिने क्रिकेट विश्लेषकहरुको अनुमान छ ।  

लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोली लामो समय मुख्य प्रशिक्षकविहीन थियो ।  नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पट्वालले राजीनामा दिएपछि खालि रहेको नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आईसीसीले क्यानको सिफारिसमा वाट्मोरको नाम अनुमोदन गरेको हो ।  क्यानले नेपाली टोलीको प्रशिक्षकका लागि खुला आह्वान गरेको थियो । 

जसमा ७२ जनाले आवदेन दिएका थिए ।  क्यानका अनुसार त्यसबाट सुरूमा २५ जनाको सर्टलिस्ट तयार पार्दै ‘ए’ मा परेका १४ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो । जसमा क्यानले १२ जनाको अन्तर्वार्ता लिएको क्यानका एक अधिकारीले जानकारी दिए ।  उनै १२ जनामध्ये नेपालले सबैभन्दा अनुभवि र विश्व क्रिकेटमा बलियो प्रशिक्षक कहलिएका वाट्मोरलाई पाएको छ ।

अन्तर्वार्ताका क्रममा वाट्मोरले नेपालको क्रिकेट ‘कल्चर’ मन परेर आफू इच्छुक रहेको बताएका थिए ।   श्रीलंकाले १९९६ मा विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर नै मुख्य प्रशिक्षक थिए ।  श्रीलंका क्रिकेटलाई ठूलो सफलता दिलाएका उनी नेपाली टोलीको प्रशिक्षक भएमा टिमले राम्रो प्रदर्शन गर्न सक्ने सबैको आंकलन छ ।

लामो समय कोलम्बोको राष्ट्रिय टोलीबाट खेलेका वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिएका थिए । उनी १९९६ मा श्रीलंकाले विश्वकप जित्दा मुख्य प्रशिक्षक भएका वाट्मोरले श्रीलंकन टोलीलाई ठूलो सफलता दिलाए ।  वाट्मोरले इङ्लिस क्लब काउन्टी क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । 

उनले काउन्टीका लागि दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।  क्लब क्रिकेटमा सफलता प्राप्त गरेका उनी श्रीलंकन टिममा फर्के जहाँ उनले १९९९ मा टिममा सफलता हात पार्न नसके पनि २००३ मा भने श्रीलंकालाई सेमिफाइनलसम्म पुर्‍याउन सफल भए । वाट्मोरले सन् २००५ देखि २००७ सम्म बंगलादेशको मुख्य प्रशिक्षकको रुपमा काम गरे । 

उनलाई श्रीलंकन टोली जस्तो सफलता भने मिलेन । २०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बने । वाट्मोर २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक बने । उनको प्रशिक्षकत्वमा पाकिस्तानले एसिया कप जित्न सफल भएको थियो । लामो समय क्रिकेट प्रशिक्षकमा सफलता प्राप्त गरेका वाट्मोर नेपाली टोलीका प्रशिक्षक भएसँगै नेपाललाई सफलता प्राप्त गर्ने सम्भावना छ । 

उनको प्रशिक्षकत्वमा रहेका टोलीको सफलताको आधारलाई लिने हो भने नेपाली टोली पनि सम्भावना बोकेको टिम हो ।  सन् २०१४ मा सफल प्रशिक्षक पुबुदुले विश्वकप खेलाइसकेका नेपाली टोलीले विश्वकप जिताइसकेका वाटमोरबाट पनि धेरै सफलता हात पार्ने अपेक्षा क्यानको छ ।