काठमाडौं । सर्लाहीको अन्नपूर्ण तथा इन्दिरा सुगर मिल्सले उखु किसानलाई मिलले दिनुपर्ने बक्यौता बुझाइरहेको जनाएको छ । गत वर्ष पुसमा सरकारसँग भएको सहमति पछि १ वर्षको अवधिमा १५ करोड रुपैयाँ बक्यौता तिरेको जनाएको छ ।
तर काठमाडौंमा गत आइतबारदेखि भएको आन्दोलनमा उद्योगले एक रुपैयाँ पनि बक्यौता नतिरेको, किसानसँग सम्पर्कमा नरहेको, किसानलाई दुःख दिएको जस्ता भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “हाम्रो स्वामित्वमा रहेको दुईवटा उद्योगको एक वर्षअघिको ४० करोड बक्यौता घटेर २२ करोडमा आइपुग्दा पनि आन्दोलनमा रहेका मानिसहरुले हाम्रो एउटै मिलको बक्यौता ३० करोड भनी गलत प्रचार गरेका छन् । दुईवटा चिनी मिल सञ्चालन गर्न हामीले दुई अर्ब रुपैयाँ लगानी गरेका थियौं । गलत ठाउँमा उद्योग चलाएका कारण अहिलेसम्म हामीले ९० करोडभन्दा बढी घाटा खाएका छौं,” जारी विज्ञप्तिमा भनिएको छ ।
कोभिडका कारण थलिएको आर्थिक अवस्थाका बाबजुत पनि सकेको बक्यौता तिरेको कम्पनीले जनाएको छ । अन्नपूर्ण चिनी मिल बिक्रीका लागि विभिन्न इच्छुक उद्योगहरुसँग छलफल गरी अन्तिम चरणमा पुग्ने कोसिस गरेको पनि जनाइएको छ । “मिल बिक्रीपछि हामी किसानको सबै रकम तिरेर यो दुःखबाट मुक्त हुन चाहान्छौं,” विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले आन्दोलनको नेतृत्व गरिरहेका हरिश्याम राय बिचौलिया भएको आरोप लगाएको छ । “उनले हामीसँग मोलमोलाई गरेको जानकारी गराउँन चाहन्छौं,” सञ्चालक राकेश अग्रवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरेकपटक हामीलाई आन्दोलनको धम्की दिएर रायले विभिन्न मितिमा तीन करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भुक्तानी लिएका छन् ।”
कम्पनीले रायले २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ तारिखसम्म ३२ पटक गरेर ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुक्तानी दिएको बैंक स्टेटमेन्ट पनि सार्वजनिक गरेको छ । अग्रवालले भनेका छन्, “मेरो वाचा पुनः दोहोर्याउँछु साँच्चिकै पीडित र वास्तविक किसानको माग सम्बोधन गर्न तयार छु तर बिचौलिया र हामीलाई दुःख दिनेलाई तत्काल कारबाही होस् ।”