किसानलाई आन्दोलनमा होइन खेतमा पठाऊ : जनार्दन शर्मा


किसानलाई आन्दोलनमा होइन खेतमा पठाऊ : जनार्दन शर्मा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले उखु किसानहरूको वक्यौता यथाशीघ्र भुक्तानीको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । किसानहरू उत्पादनमा केन्द्रित हुनुपर्ने बेला माइतीघर धाउनुपर्ने अवस्थाको अन्त्या गर्न उनले आग्रह गरेका हुन् ।

“सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन । तत्काल उखुको मूल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “किसानलाई आन्दोलनमा होइन खेतमा पठाऊ ।”

चार वर्षदेखि उखुको वक्यौता नपाएपछि किसानहरू आइतबारबाट राजधानीमा प्रदर्शन सुरु गरेका छन् । गत साल पनि यस्तै आन्दोलन गरेपछि पुस १८ गते सरकारले भुक्तानी दिलाइदिने सहमति गरेको थियो ।  सम्झौतामुताबिक पैसा नपाएपछि उनीहरू पुनः काठमाडौं आउन बाध्य भएका हुन् ।