निर्णय (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      २६ मंसिर २०७७, शुक्रबार ०५:३४ मा प्रकाशित     
निर्णय (लघुकथा)
बा-आमा पिढीँमा बसेर भुटेका मकै चपाइरहेका थिए । उसले माइती घरको आँगनमा रिक्सा रोकी । सानी छोरी काखमा थिई । पोका पुन्तुराको भारी सानै थियो । उसले रिक्साबाट तल झारी ।
"यसरी स-सानो कुरामा माइती फर्कन थालेपछि पहाड जत्रो जिन्दगी कसरी उराल्छे यो छोरीले ।" बाले आमाको मुखतिर हेरे...
 
“आज फेरी कुटेछ बईज्याले ! “ आमाले छोरीको मुखमा हेरिन् । अनुहार उत्रेको थियो। 
 
“यसरी स-सानो कुरामा माइती फर्कन थालेपछि पहाड जत्रो जिन्दगी कसरी उराल्छे यो छोरीले ।” बाले आमाको मुखतिर हेरेर प्रश्न गरे ।
"उबेला आइमाई जाबो जति ल्याए नि हुने । हिउँदेमा एउटी, बर्खेमा अर्की। अहिलेको जस्तो बहुबिहा कानुन लाग्थेन । मर्दका सात वटी भन्थे ।"
 
“उहिले हाम्रा पालामा सासु आमाजुहरुले दु:ख दिन्थे । लोग्नेमान्छे  कहिलेकसो घरमा पुग्थे ।  नत्र कामको सिलसिलामा बाहिरको बाहिरै हुन्थे ।  लोग्नेस्वास्नी बाझाबाझ गर्न पनि महिनौं कुर्नुपर्थ्यो । अहिले त ! काम छैन , काज छैन । रक्सी धोक्यो । स्वास्नी कुट्यो ।” आमाले बा तिर फर्केर विगत कोट्याइन् । 
 
“उबेला आइमाई जाबो जति ल्याए नि हुने । हिउँदेमा एउटी, बर्खेमा अर्की। अहिलेको जस्तो बहुबिहा कानुन लाग्थेन । मर्दका सात वटी भन्थे ।” बाले पहाड जिम्मा लिएर बसेकी जेठी बुढी झलक्क सम्झे । 
 
“आइमाईको पिर तिम्लाई के था ? ” 
 
“भो , कुरा नगर् ।  बटुल्न  जानेकाले थन्काउन नि जानेका थेम्।” 
 
ऊ बा-आमाका वार्तालाप सुनिरहेकी थिई । यो पितृसत्तात्मक दम्भ सर्दैसर्दै आजसम्म पुगेको हो । वंश चलाउने आडमा महिला माथिको अत्याचार । उसले बाको अनुहारमा सबै लोग्नेमान्छे उस्तै देखी । 
 
“आमा — ! ” भन्दै ऊ अघि सरी । फेरि अन्कनाई । अगाडि बोल्न सकिन ।
 
“के आइलाग्यो  फेरि !  घर गाको तीन मैना भाको छैन ?”  यति भन्दै बा उठेर बारीतिर लागे ।
 
“उनले छोरा चाहियो भन्छन् ! पेटमा फेरि बच्चा आयो । तीनवटी छोरी छन् । चारवटी फालिसकेँ । अब त मैं मर्छु होला । ” उसले कुरा खोली । 
 
“तेरो इच्छा ! जे गर्छेस् । लोग्नेले भनेको नि मान्नै पर्यो । म अर्काको वंश कसरी नचलोस् भनुँ ?” आमाले पुत्रमोह जनाइन् ।  
 
उसका पाइला जसरी आएका थिए , उसै गरी फर्किए । सरासर अस्पताल गई… गर्भको जाँच नगराई भ्रुण झिकेर फाली । 

उसले डाक्टरसँग भनी, “डाक्टर साप,  मेरो स्थायी अप्रेसन  गरिदिनुस् । मेरो शरीर मेसिन होइन, मान्छे भएर बाँच्न चाहन्छ ।”

लक्ष्मी प्रसाद पौडेल 
धनगढी, कैलाली
(सुदुरपस्चिम, धनगढ़िबाट नियमित रुपमा साहित्यिक रचना ”लघुकथा” पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ । –लेखापढी डट कम )


अतिक्रम -लघुकथा

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •