‘व्यक्ति-हत्या’को दुई दिनपछि बोल्यो काङ्ग्रेस, प्रधानमन्त्रीको दल अझै मौन


लेखक : लेखापढी      २५ मंसिर २०७७, बिहीबार १६:३५ मा प्रकाशित     
‘व्यक्ति-हत्या’को दुई दिनपछि बोल्यो काङ्ग्रेस, प्रधानमन्त्रीको दल अझै मौन

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै खालका आलोचना नसहने बताएका छन्।

विश्व मानव अधिकार दिवसका अवसरमा रचनात्मक आलोचनाको स्वागत गर्ने उल्लेख गर्दै भनेका छन्, “तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन।”

अर्थात् सरकार आलोचनाको अर्थ खोज्ने र सबैखालका आलोचना गाह्य नहुने पक्षमा रहेको उनको अभिव्यक्तिले जनाउँछ।

आलोचनाको सीमारेखामा जोड दिएका प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक अध्यक्ष हुन्।

“आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन सक्दैनन् । यस्ता कार्यहरू मानव अधिकार विरुद्धका दण्डनीय अपराधका रूपमा लिइन्छन्,” ‍ओलीले भनेका छन्।

तर नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीले जिम्मेवारी स्वीकार गरेको मोरङका शिक्षकको हत्याबारे नेकपा मौन छ।

नेपाल मानव अधिकार सङ्गठनले उक्त घटना ‘अत्यन्त गम्भीर प्रकृतिको भएको’ ठहर गरेको छ।

उसले एउटा वक्तव्य जारी गर्दै ‘सरकार, सबै राजनीतिक दल, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षलाई समयमै सचेत हुन अपील’ गरेको छ।