चोर : लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      २२ मंसिर २०७७, सोमबार ०४:४३ मा प्रकाशित     
चोर : लघुकथा

 

एकल महिला थिइन् गौशिला ।

उनका छिमेकी थिए आफ्नै देवर । गौशिलाको साथमा परिवारको सदस्य कोही पनि थिएन । उनी एक्लै बस्थिन् । उनका देवरका भने पति पत्नी थिए । छोरा बुहारी थिए । नातिनातिनाहरू पनि थिए ।

सोमबारको दिन विहानै उठेर देवरलाई भनिन् – “हेर्नुस् न बाबु ! करेलाको बीउ राखेकी थिएँ । लामो थियो । बेलुका यहीँ थियो । रातमै चोरेर लगेछ ।”

“कुन बदमास होला भाउजु चोर ? “

“पाँचवटा फर्सी फलेका थिए । म घाँस काट्न गएका बेलामा पुरै चोरेर लगेछ । एउटा बीउ त छोडि दिनु पर्छ नि ।”

“बीउ मासा साला ! भेट्न पाएको भए गोधि दिने थिएँ भाउजु !”

“हेर्नुस् न बाबु ! बराण्डामा उज्यालो बनाउनको निम्ति बिजुलीको चिम राखेकी थिएँ । त्योपनि लगेछ ।”

“अति गरेछ । धनु लगाइदिउँ ? “

भो भो पर्दैन देवर बाबु ! ”

“बाघवीर लगाइ दिउँ ?”

“यस्ता अन्धविश्वासी विधिले कहाँ चोर पक्डन सकिएला र !”

“पुलिस बोलाई पाता कसेर पठाई दिउँ ?”

“एउटा चोरेको फर्सी पाएपछि पुलिस पनि उतै लाग्छ ।”

“अब के गरौँ त भाउजु ?

“चोरलाई मैले चिनेकी छु । कोदालाकाे पासाले त्यसको टाउकोमा बजाउँछु ।”

गौशीलाले कोदालो उचाल्न लागेको देखेपछि देवरले अँध्यारो अनुहार बनाए । गुहार ! गुहार !! भन्दै सुइँकुच्चा ठोके ।


त्रिलोचन ढकाल
आनन्द आश्रम, फापरथुम, स्याङ्जा


“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा प्रत्येक हप्ताको सोमवार एउटा लघुकथा प्रकाशित गरिनेछ।”

यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पनि पठाउन सक्नुहुनेछ ।       email- lekhapadhee@gmail.com
visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •