काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकअघि केन्द्रीय कार्यालय धुम्बाराहीको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको छ । कार्यालयमा अहिले नेकपा नेताहरुबाहेकलाई प्रवेश दिइएको छैन भने कार्यालय वरिपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
कार्यालय नजिक रहेका केही घरको छतमा समेत सुरक्षाकर्मी राखिएको छ । यसअघि नेकपा सचिवालय बैठक धुम्बाराहीमा बोलाइएको भए पनि सुरक्षाको कारण देखाउँदै बालुवाटारमा नै गरिएको थियो ।
आजको स्थायी कमिटी बैठक एक बजे बोलाइएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।