चक्रपथ विस्तार हुदा स्वयम्भु खतरामा


चक्रपथ विस्तार हुदा स्वयम्भु खतरामा

स्वयम्भु – विश्व सम्पदामा सूचीकृत स्वयम्भू बचाउन अभियान सुरू भएको छ। सडक विभागले कलंकीदेखि चाबहिलसम्म सडक बिस्तार गर्ने क्रममा स्वयम्भू परिसरलाई पनि असर पुग्ने भएपछि अभियान सुरू गरिएको हो।

सडक विस्तार क्रममा सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु) समेत भत्काइनेछ।

स्वयम्भूजस्तो धार्मिक-सांस्कृतिक सम्पदालाई सम्मान नगरेर सडक बिस्तारको नाममा मिच्न खोजिएको भन्दै अभियन्ताहरू आक्रोशित छन्।

‘विश्वसम्पदा क्षत्रेका ऐतिहासिक–धार्मिक धरोहरलाई जथाभावी भत्काउने, पुनः निर्माण गर्ने गराउने कार्य आफैंमा अन्तर्राष्ट्रिय सिद्धान्त, ऐन, मूल्य–मान्यता र भावनाविपरित कार्य हो,’ अभियानका संयोजक आचार्य नुर्बु शेर्पाले भने, ‘ विकासका गतिविधि गर्दा धार्मिक-सांस्कृतिक-ऐतिहासिक सम्पदालाई क्षति नपुर्‍याएर गर्नुपर्छ।’

विकल्पसहित सडक विस्तार गर्न-गराउन दबाब सिर्जनाका लागि सरकार र सम्बन्धित निकायसँग संवाद-छलफल, शान्तिपूर्ण दबाबपूर्ण अभियान गर्ने उनीहरू बताउँछन्। 

अभियानअन्तर्गत हस्ताक्षर संकलन, सरकारी निकायमा ज्ञापन पत्र बुझाउने, शान्तिपूर्ण दीप प्रज्वलन, मौन र्‍यालीलगायतका कार्यक्रम गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

सरकारका चिनियाँ सहयोगमा दोस्रो चरणमा चक्रपथको कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको काम थालेको छ।