वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं : हर्षवर्धन शृङ्गला


वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं : हर्षवर्धन शृङ्गला

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताएका छन् । काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । “नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं,” उनले भने, “घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ ।”
अन्तरक्रियामा केहीबेर नेपालीमै सम्बोधन गरेका शृङ्गलाले नेपाल र भारत सम्बन्धमा विशेष जोड दिएका थिए ।

उनले नेपालजस्तो सुन्दर देशमा विदेश सचिवका हैसियतमा भ्रमण गर्न पाउनु सौभाग्य भएको बताएका थिए । सम्बोधनको क्रममा उनले नेपालमो धेरै कुरामा अहिले फरक पाएको भन्दै प्रशंसा गरेका थिए । सामाजिक एवम् आर्थिक सुधार संरचनाहरुको निर्माणलगायतमा सुधार भएको उनको भनाइ थियो ।

“अझै पनि मानिसहरुको मन र मुस्कान चाहिँ परिवर्तन भएको रहेनछ,” उनले भने, “नेपाल र भारतको सम्बन्ध आत्मीय परम्परा, सिभिलाइजेसन र इतिहासले दुई देशका जनताबीच शक्तिशाली सम्बन्ध कायम गरको छ । दुईवर्ष अगाडि मोदीको भ्रमणले पनि यो स्पष्ट पारिसकेको छ ।” 
उनले पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको बताउँदै बलियोरुपमा सँगै अघि बढ्नुपर्ने बताए ।

“पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा नयाँ उतारचढाव आएको छ,” उनले भने, “तर पनि हामी अझै बलियो रुपमा सँगसँगै अघि बढिरहेका छौँ । मोदीको चारपटकको भ्रमण, हाम्रा राजनीतिक नेतृत्वहरुको १६ पटकको कूल भ्रमणले पनि नेपाल भारतको सम्बन्धलाई नयाँ र ताजा ऊर्जा प्रदान गरेको छ ।”

उनले भारतले अघि सारेको नारा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ तथा नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन पनि एकअर्कासँग मिल्ने बताए ।

“अहिले नेपालका विभिन्न वरिष्ठ अधिकारीहरुसँगको भेटवार्ताले फेरि पनि नेपाल र भारतले एउटै भिजन शेयर गर्छ भन्नेमा कुनै शंका छैन,”उनले भने, “मेरो स्वागत अत्यन्तै भावनात्मक रह्यो ।”

उनले डिजिटल प्रविधिको क्षेत्रमा पनि भारतले नेपाललाई उचित पार्टनरका रुपमा हेरेको बताए ।

उनले दीर्घकालीन विकाससहितका परियोजनामा सहकार्य गर्न चाहेको बताउँदै भने, “अहिले नै नेपालमा सयौँ परियोजनाहरु सम्पन्न भइसकेका छन्, शैक्षिक, कृषिलगायत सबै क्षेत्रमा, सीमा क्षेत्रमार्फत व्यावसायिक क्षमतालाई पनि हामी पूर्ण उपयोग गर्दै लैजान सक्छौँ ।”  भौगोलिक कार्यक्रम रेलवे, हाइवे, पेट्रोलियम उत्पादन नेपाल भित्र्याउन स्टोरेजको व्यवस्थापन, अरुण थ्री हाइड्रोपावर, जनकपुरसम्मको रेलमार्गलगायतका परियोजनाका स्मरण गर्दै नेपाल र भारतबीचको सम्बन्धका बारेमा प्रष्ट पारेका थिए ।

“भारतीय पर्यटकहरु पशुपतिनाथलगायतका क्षेत्रमा सजिलै आउन सक्छन्,” उनको भनाइ थियो । उनले कोरोना सुरु हुँदा भारतका दुईवटा कम्पनीले मात्रै मास्क उत्पादन गरिरहेको उल्लेख गर्दै अहिले ४८ वटा कम्पनीहरुले भेन्टिलेटर निर्माण गरिरहेको बताएका थिए ।
त्यसले गर्दा पनि नेपाललगायतका देशलाई आफूहरुले सहयोग गर्न सकेको बताएका थिए ।

“लकडाउनका बेलामा पनि सीमा क्षेत्रमा कुनै सामान आउनबाट अवरोध भएन,” उनले भने, “हिजो मात्र विदेश मन्त्रीसँग रेमडिसिभिर सम्बन्धी छलफल भयो । विश्वको सबैभन्दा ठूलो खोप निर्माणकर्ता भएकाले दर्जनौँ कम्पनीहरु कोरोनाको खोप बनाउँदैछन्, र भ्याक्सिन हुनेबित्तिकै नेपाललाई पनि प्रदान गर्ने भारतको प्राथमिकता छ, हामी सँगै यस प्यान्डेमिकसँग लड्नेछौँ र सँगै यसलाई पार लगाउनेछौँ, हाम्रा जनतालाई जोगाउनेछौँ ।” 

उनले आईपीएलमा समेत नेपाली खेलाडीहरुको सहभागिता रहेको स्मरण गरेका थिए । “नयाँ भारतको सपनामा नेपालले पनि यो नयाँ यात्रामा साथ दिओस् भन्ने चाहान्छौँ, नेपालको हाइड्रोपावर पूरै एसियाका लागि ऊर्जा बन्न सक्छ,” उनको भनाइ थियो, “जटिल समस्याहरुको नियमित छलफलमार्फत समस्या समाधान गर्न सक्छौं ।”